काठमाडौं, भदौ ३० :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले भाद्र १० गतेको विपद्का पीडित परिवारहरूको वेदना र राज्यको सुस्त कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले  विदुर नगरपालिका-१,  नुवाकोटका प्रकाश जोशीको पीडादायी उदाहरण प्रस्तुत गरिन्। उक्त विपद्मा परी जोशीको परिवारका ५ जना सदस्यहरू (आमा, श्रीमती, दुई छोरा र बुहारी) गुमाउनु परेको पीडाकाबीच फेला परेको छोराको शव पनि प्राप्त गर्न नसकेको सुनाइन् ।

५ जना परिवारमध्ये १ जना छोराको शव भेटिए पनि पूर्ण पहिचानको अवस्थामा भए पनि राज्यबाट सो शव लिन पीडितलाई  कठिनाई भएको जनाउँदै ओलीले पहिचान खुलेका परिवारहरूलाई तत्काल शव जिम्मा दिनुपर्ने र छुट्टै डीएनए रिपोर्ट आउने व्यवस्था मिलाउनुपर्ने माग गरिन् ।

प्रहरी अस्पतालमा डीएनएका लागि रगत दिएको १५ दिन बितिसक्दा पनि रिपोर्ट नआएको र  एकैपटक रिपोर्ट निकालेर म्याच भएपछि मात्र शव दिने कुराले उनलाई पीडामाथि झन् पीडा दिने काम भएको बताइन् ।
पूर्ण पहिचान खुलेका शवहरूको छुट्टै व्यवस्थापन गरी, सनाखत गरी मुचुल्का उठाएर पीडित परिवारलाई राज्यले तत्काल राहत र सहयोग उपलब्ध गराउनुपर्ने उनको जोड थियो।

राज्यबाट यस्ता पीडित परिवारहरूलाई छिटो न्याय र सहयोग गर्नु पर्नेमा विलम्ब भइरहेको उनको भनाइ थियो । भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढी बगाउँदा सयौं व्यक्तिको मृत्यु भएको छ भने हजारौं व्यक्ति सम्पर्कविहीन भएका छन् ।