काठमाडौं, भदौ २८ :

नेपाली कांग्रेस संस्थापन पक्षले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई विशेष महाधिवेशनपछिको नयाँ केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको छ।

आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा रहने गरी आह्वान गर्ने निर्णय गरेको छ। नयाँ केन्द्रीय समितिमा बस्न इच्छुक सबैलाई महाधिवेशनमा सहभागी हुन आग्रह पनि गरिएकोछ।

सबै केन्द्रीय सदस्य महाधिवेशन आयोजक समितिकै रूपमा रहने बताइएको छ।  देउवा पक्ष पनि समानान्तर रूपमा महाधिवेशनको तयारीमा जुटिरहेको अवस्थामा उनीहरु पनि तोकिएको महाधिवेशन प्रक्रियालाई स्वीकार गर्दै सक्रिय सहभागिता जनाउँछ वा आफ्नै तयारीलाई निरन्तरता दिन्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुने देखिएको छ।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरिसकेको छ। त्यसअघि असोज ३ र ४ गते वडा तहको अधिवेशन गर्ने मिति तोकिएको छ।

यसैगरी, कांग्रेस संस्थापन पक्षले गत पुससम्म सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यलाई मान्यता दिने निर्णयसमेत गरेको छ। क्रियाशील सदस्यताको विषयलाई लिएर कांग्रेसभित्र विवाद रहँदै आएको अवस्थामा संस्थापन पक्षको यो निर्णयलाई महाधिवेशन तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ। कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्दै निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने चुनौती नेतृत्वसामु रहेको छ।