
प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् ।
प्रधानमन्त्री शाहले महासभामा जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षतिबारे विश्व समूदायको ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको राईले बताए ।
सेप्टेम्बर २२देखि २८सम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुने महासभाको जनरल डिबेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् । महासभामा ८१ मुलुकका राष्ट्र प्रमुख र ५० मुलुकका सरकार प्रमुख सहभागी हुने छन् ।
नगन्य कार्बन उत्सर्जन गरेतापनि नेपालले ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषय उनले विश्वसमक्ष प्रस्तुत गर्ने छन् । न्यूयोर्कमा हुने महासभामा सहभागी हुन प्रधानमन्त्री शाहलाई मन्त्रिपरिषद्ले स्वीकृत प्रदान गरिसकेको छ ।