
नेपाली कांग्रेसले विपद्का समयमा सुरक्षा निकायबाट भएको प्रयास सराहनीय रहेको भन्दै उच्च प्रशंसा गरेको छ ।
सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले सुरक्षा निकायलगायतबाट भएको प्रयासको उच्च सम्मान प्रकट गरेको छ । यस्तै मित्रराष्ट्र तथा राष्ट्रिय–अन्तरराष्ट्रिय सङ्घसंस्था र व्यक्तिले नेपालको विपद्मा देखाएको सद्भाव, सहयोग र मानवीयतालाई आभार प्रकट गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
विपद्को दुःखद् घडीमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, निजी क्षेत्रले देखाएको सक्रियता, सहयोग र मानवीय संवेदनशीलतालाई कांग्रेसले प्रशंसा गरेको छ ।
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड प्रदान गरिसकेको छ । यस्तै, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका तत्कालीन, अल्पकालीन र दीर्घकालीन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता चालिसेले बताए ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सो पार्टीले खोज तथा उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको प्रवक्ता चालिसेको भनाइ छ ।
नेपाली सेना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जलविद्युत् क्षेत्रका विज्ञ तथा अन्तरराष्ट्रिय विशेषज्ञको समन्वयमा विशेष प्राविधिक उद्धार अभियान सञ्चालन गर्न आग्रह गरिएको छ ।
बाढी र पहिरोबाट अवरुद्ध सडक तत्काल सुरक्षित रूपमा सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गर्दै कांग्रेसले पीडितसमक्ष तत्काल राहत सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।
बैठकले बाढीपछिको खोज, उद्धार, राहत, पुनःस्थापना, स्वास्थ्य, शिक्षा, सामाजिक–आर्थिक अवस्था, राष्ट्रिय सुरक्षा र जलवायु न्यायलगायत विषयमा अध्ययन गरी सात दिनभित्र प्रतिवेदन तयार गर्न प्रा डा गोविन्दराज पोखरेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।