काठमाडौं, भदौ १९ :

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर (सेनानी) पदमा बढुवा भएका छन्। नेपाली सेनाले खवासलाई सह–सेनानी (क्याप्टेन)बाट मेजरमा बढुवा गरेको हो। 

मेजरमा बढुवा भएका खवास यतिबेला त्रिशूली बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन्। बाढीपछि लगातार १० दिनदेखि उनी त्रिशूली क्षेत्रमा उद्धार कार्यमा सक्रिय छन्।

व्यक्तिगत जीवनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दिन पनि खवासले आफ्नो जिम्मेवारीबाट विश्राम लिएनन्। कृष्ण जन्माष्टमीको दिन शुक्रबार उनलाई फिल्डमै मेजरको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

खवाससहितको नेपाली सेनाको टोलीले शुक्रबार त्रिशूलीको सुरुङबाट दुई जनालाई जीवितै उद्धारसमेत गरेको छ। विपद्का बेला उद्धार कार्यमा खटिइरहेका खवासले पदोन्नतिको दर्ज्यानी चिन्ह पनि उद्धारस्थलमै ग्रहण गरेका हुन्।

खवास यसअघि २०७९ साउनमा सह–सेनानी (क्याप्टेन) पदमा बढुवा भएका थिए। नेपाली फुटबलमा लामो समयदेखि सक्रिय खवास नेपाली सेनामा समेत कार्यरत छन्। फुटबल मैदानमा स्ट्राइकरका रूपमा परिचित खवास पछिल्लो समय विपद् व्यवस्थापन तथा उद्धार कार्यमा पनि सक्रिय देखिएका छन्।