
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सरकारले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा,नुवाकोट र सिन्धुपाल्चोकमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
यस्तै बैठकले भोटेकोसी बाढीबाट प्रभावित जिल्लाहरूमा क्षति पुगेका व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज (बिजनेस रिकभरी प्याकेज) तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने र भारत सरकारसँग जीटूजी खरिद माध्यमबाट २५ हजार मेट्रिकटन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।