बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले पुनः सुनुवाइ गर्ने

पुनः सुनुवाइका क्रममा सर्वोच्चले यसअघिको फैसला सदर गर्न वा उल्ट्याउन सक्नेछ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ साउन, २०८३ मा प्रकाशित
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले पुनः सुनुवाइ गर्ने
काठमाडौं, साउन २१ :

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता तथा विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनः सुरुदेखि सुनुवाइ गर्ने भएको छ। यसअघि विशेष महाधिवेशनलाई वैधानिकता दिएको फैसलामाथि पुनरावलोकनको निस्सा प्रदान गरेसँगै उक्त विवाद फेरि पूर्ण सुनुवाइमा जाने भएको हो।

बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकनको निस्सा दिने आदेश गरेको हो। निस्सा प्रदान भएसँगै अब तीन सदस्यीय अर्को इजलासले मुद्दाको सुरुदेखि सुनुवाइ गर्नेछ। उक्त इजलासमा हाल निस्सा दिने न्यायाधीशहरू सहभागी हुने छैनन्।

पुनः सुनुवाइपछि सर्वोच्च अदालतले यसअघिको फैसला सदर गर्न वा उल्ट्याउन सक्नेछ। यदि अघिल्लो फैसला सदर भए विशेष महाधिवेशनबाट गठन भएको नेतृत्वले कानुनी मान्यता कायम राख्नेछ। फैसला उल्टिएको अवस्थामा भने असन्तुष्ट समूहको दाबीलाई समर्थन हुने र विशेष महाधिवेशनको वैधानिकता प्रभावित हुनेछ।

यसअघि न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चयन भएको सभापति गगन थापाको नेतृत्वलाई वैधानिकता प्रदान गरेको थियो। सोही इजलासले तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गरेको थियो।

उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै शेरबहादुर देउवा पक्षले साउन ७ गते पुनरावलोकनका लागि निवेदन दर्ता गराएको थियो। सोही निवेदनमाथि सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा प्रदान गरेसँगै कांग्रेसको आधिकारिकता विवाद फेरि न्यायिक परीक्षणमा प्रवेश गरेको हो।

अब पुनः सुनुवाइबाट आउने फैसलाले कांग्रेसको नेतृत्वसम्बन्धी विवादको अन्तिम कानुनी टुंगो लगाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार