काठमाण्डौँ, साउन १८ : बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले आज पदभार ग्रहण गर्नुभएको छ । 

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले सङ्घीय सरकारले आफूलाई विश्वास गरेर प्रदेश प्रमुखको जिम्मेवारी दिएको बताउँदै उहाँले संवैधानिक दायराअनुसार इमान्दारीपूर्वक काम गर्ने बताउनुभयो । 

उहाँले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय, सहकार्य गरेर कार्यसम्पादन गर्ने उल्लेख गर्नुभयो । सो अवसरमा बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माले आफू रहँदा संवैधानिक निकायसँग समन्वय र सहकार्य गर्दै प्रदेश सरकार तथा स्थानीय तहसँग निरन्तर सम्पर्कमा रही सुशासन कायम राख्न काम गरेको बताउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख देवकोटालाई बिहीबार काठमाडौँमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि आज पदभार सम्हाल्न हेटौँडा पुग्नुभएको हो । बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आजै नवनियुक्त प्रदेश प्रमुख देवकोटाले बिदाइ गर्नुभएको छ ।