बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति शिक्षा

त्रिवि सेवा आयोगका अध्यक्ष थापालाई शिक्षामन्त्रीबाट शपथ

विश्वविद्यालयको संस्थागत सुधारमा काम गर्ने थापाको प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ असार, २०८३ मा प्रकाशित
त्रिवि सेवा आयोगका अध्यक्ष थापालाई शिक्षामन्त्रीबाट शपथ
काठमाडौं, असार १८ :

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोखरेलले हालै त्रिवि सेवा आयोगको अध्यक्ष पदमा नियुक्त भएका थापालाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री पोखरेलको उपस्थितिमा सेवा आयोगको नवनियुक्त सदस्य प्रा डा रेजिना मास्केलाई त्रिवि सेवा आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराए ।

शपथपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमानदारिताका साथ निर्वाह गर्दै त्रिविमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष थापाले २१औँ शताब्दीको नयाँ चुनौतीको सामना गर्न विश्वविद्यालयको श्रीवृद्धिमा अहोरात्र खटिने विश्वास व्यक्त गरे । नयाँ नियुक्तिले आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने विश्वास गरिएको छ ।

सहकुलपति रहेका मन्त्री पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो ।

सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो । निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्याङ्कन गरी योग्य उम्मेदवारको नाम सिफारिस गरिएको थियो ।
आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित अध्यक्ष थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रही योगदान दिइसकेका छन् । उनी सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग सचिवालयलगायतका निकायमा सचिव थिए ।

अध्यक्ष थापाले यसअघि राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति, नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्त्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्

भूकम्पपछिको पुनःनिर्माण अभियानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा समेत योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एण्ड रिजनल स्टडिजमा सहरी योजना विज्ञ तथा काठमाडौँ विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन् ।

उनले आवास, सहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार