काठमाडौं, असार ९ :

शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी नभएको स्पष्ट पारेको छ । सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नजितामा त्रुटी र लापरवाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताए ।

उनले शिक्षकहरुलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन गर्न सफल भएको उल्लेख गरे । उनले नजिता प्रकाशनका विषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटी फेला नपरेको र ईमानदारीपूर्वक, कपी परीक्षण भएको जानकारी दिए ।

त्यस्तै सचिव पौडेलले विश्वविद्यालयको नियुक्ति प्रक्रिया सम्बन्धी विश्वविद्यालयको ऐनका भएको व्यवस्था अनुसार नै रहेको बताए । खुला विश्वविद्यालयको स्थायी शिक्षकको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए।

सचिव पौडेलले नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले करिव १४ सय विदेशी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिदै विद्यार्थी भिसालाई सहजीकरण गर्ने बिषयमा गृहमन्त्रालयसंग छलफल अघि बढाइएको धारणा राखे। चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउनका लागि नीतिगत निर्णय गर्ने तयारीमा सरकार अघि बढिरहेको उनको भनाइ छ ।

उनले स्वदेशमा अध्ययनपछि रोजगारीको प्रयाप्त व्यवस्था हुननसक्दा नेपाली विद्यार्थीहरु अन्य देशमा अध्ययनका लागि जाने गरेको देखिएको बताए ।

स्वदेशमा नै रोजगारीको प्रयाप्त अवसरका लागि सबैको सामूहिक प्रयास भए विद्यार्थीहरुलाई स्वदेशमा नै रोक्न सकिने आफूहरुको विश्वास रहेको उहाले उल्लेख गरे ।