
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो ।
महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरू हुने भएको छ । बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको रास्वपाले जनाएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने काम गर्न बढी समय लागेकाले महाधिवेशनको बन्दसत्र पछि सरेको बताइएको छ । कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ ।
बन्दसत्रको सुरूमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रस्तुत गर्ने आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्नुहुने आर्थिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल गरिने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।