
फाइल तस्बिर ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।
शनिबार कोटेश्वरस्थित पेरिसडाँडा मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एमालेसँग एकता हुने सम्बन्धमा बाहिर आएका हल्ला र चर्चाको पछि नलाग्न आग्रह गरे।
पार्टीको आगामी कार्यदिशाबारे चर्चा गर्दै उनले वर्तमान अवस्थामा देशभक्त, क्रान्तिकारी तथा गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्नु नै मुख्य कार्यभार रहेको बताए। राष्ट्रिय हित, जनहित र गणतन्त्रको संरक्षण तथा सुदृढीकरण गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको उनको भनाइ थियो।
एमालेसँग एकताको चर्चा भइरहेका विषयमा प्रतिक्रिया दिँदै नेता नेपालले यस्ता समाचारका आधारमा भ्रममा नपर्न कार्यकर्ता तथा समर्थकलाई आग्रह गरे। उनले आफूलाई यस विषयमा लगातार फोन आउने गरेको उल्लेख गर्दै अहिलेको अवस्थामा एमालेसँग पार्टी एकता सम्भव नरहेको दाबी गरे।
उनले भने, “मलाई त फोनको जवाफ दिँदादिँदै हैरान भएको छु। तर यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन। एमालेसँग अहिले एकता सम्भव छ र? सम्भवै छैन। त्यसैले यस विषयमा तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोस्।”