काठमाडौं, असार ४ :

सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएसकेको र जोखिमयुक्त स्थानमा सुरक्षा निकायहरु खटाइसकेको जानकारी दिए ।

त्यस्तै सरोकारवाला निकायलाई पनि यसअघिको भन्दा अझै बढि प्रभावकारी रुपमा विपद् व्यवस्थापनका खटिन निर्देशन दिइसकेको उनले बताए । उनले जनताको सुरक्षाको लागि चाहि आवश्यक परे हेलिकप्टर परिचालन गर्ने समेतको योजना रहेको जानकारी दिए ।

उनले सडक अवरुद्ध भए तत्कालै खुलाउन सक्ने गरी आवश्यक पूर्वाधारको समेत व्यवस्था भइसकेको उल्लेख गरे ।

मन्त्री गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफल पनि नागरिकको सेवामा खटिन र गलत गर्ने कसैलाई पनि उन्मुक्ति नदिने गरी निर्मम हुन निर्देश गरिएको बताए ।

त्यस्तै प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले मनसुन पूर्व तयारीको बारेमा छलफल भएको जानकारी दिए । उनले यसवर्ष सरदर भन्दा कम वर्षा हुने र वर्षा भए एकै ठाँउमा धेरै वर्षा हुने अनुमान गरिएकाले त्यसै अनुसार तयारी भएको बताए ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि तयारी अवस्थामा जुट्न गृहमन्त्रीले निर्देशन दिको कोइराराले जानकारी दिए ।

प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्‍बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ।