काठमाडौं, असार ४ :

विपक्षी दलका सांसदहरुले संवैधानिक निकायका पदाधिकारीमाथि सरकारले अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।  

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै उठेर विरोध जनाउदै विपक्षी दलका सांसदहरुले संवैधानिक निकायका पदाधिकारीमाथि सरकारले हस्तक्षेप गर्न खोजेको र सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन् ।

विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद नरेन्द्र कुमार केरुङलाई बोल्न समय दिएका थिए । सांसद केरुङले संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, थुन्ने र पक्राउ गर्ने जस्ता धम्कीका बिषयमा सरकारको जवाफ माग गरे । उनले सीमाका विषयमा पनि प्रधानमन्त्रीले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए ।

त्यस्तै एमाले सांसद लक्ष्मी प्रसाद पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्ति, अर्थमन्त्रीको धम्कीपूर्ण भाषाले सरकार राम्रो ठाँउमा नपुग्ने बताए । उनले कर्मचारीहरुलाई आतंकीत गर्ने, अपमान गर्ने गतिविधिहरुप्रति समेत आपत्ति जनाए ।

त्यस्तै नेकपा सांसद रमेश मल्लले सरकारको गतिविधिले मुलुक अप्ठेरोमा पर्न सक्ने संकेत देखिएको बताए । उनले प्रधानमन्त्री कार्यालयले संवैधानिक निकायका प्रमुखलाई बयान लिने काम र सिधै कारबाही गर्ने विषय गम्भीर भएकाले छानबिनको माग गरे। साथै उनीहरुले आफूहरुले राखेका विषय पूरा नभएसम्म विरोध कायमै रहने जनाएका छन् ।