काठमाडौै, असार २ :

नेकपा (एमाले) का सांसद् ऐन महरले सरकारले प्रस्तुत गरेको बजेटले दुर्गम क्षेत्र, गरिब तथा पछाडि पारिएका समुदायका आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद महरले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति जनतामा ठूलो अपेक्षा भए पनि प्रस्तुत बजेटले त्यो अपेक्षा पूरा गर्न नसकेको बताए।

उनले ठूलो जनमत र विश्वासका साथ बनेको सरकारले आमूल परिवर्तन र विकासको आधार तयार गर्ने खालको बजेट ल्याउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको टिप्पणी गरे। अर्थमन्त्री वाग्लेको शैक्षिक योग्यता र अनुभवका कारण आफूहरूमा आशा रहेको उल्लेख गर्दै उनले बजेटको विषयवस्तुभन्दा पनि अर्थमन्त्रीको प्रस्तुतिकरण र व्यवहारले निराश बनाएको बताए।

महरले अर्थमन्त्रीले प्रतिपक्षलाई हेप्ने, अपमान गर्ने र मानमर्दन गर्ने शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै त्यसले उनको विद्वतामाथि नै प्रश्न उठाएको दाबी गरे।

बजेटले सुदूरपश्चिम तथा कर्णालीका दुर्गम जिल्लाहरूलाई बेवास्ता गरेको आरोप लगाउँदै उनले बझाङ, अछाम, दार्चुला, बाजुरा, हुम्ला र जुम्लाजस्ता जिल्लाहरू बजेटमा नसमेटिएको बताए। साथै, बजेटले गरिब, पिछडिएका वर्ग, महिला, बालबालिका तथा दलित समुदायका आवश्यकता पनि नदेखेको उनको भनाइ थियो।

सांसद महरले बजेटलाई गैरजिम्मेवार र यथार्थभन्दा टाढाको दस्तावेजको संज्ञा दिँदै यसले जनताको अपेक्षा र सरकारलाई प्राप्त जनमतको सम्मान गर्न नसकेको टिप्पणी गरे। उनले बजेटलाई “भरिएको बेलुनजस्तो” भन्दै यसले जनतालाई निराश बनाएको बताए।