
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आसिका तामाङले कुनै पनि मुलुकको सार्वभौमिकताको मुख्य आधार नै आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षा भएको बताएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले सीमा सम्बन्धी विवाद र चुनौतीहरूलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइन्।
सांसद तामाङले राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न नसके देशको सार्वभौमिकतामाथि नै प्रश्न उठ्ने खतरा औँल्याइन्। "कुनै पनि राष्ट्रको सार्वभौमिकताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमाको सुरक्षाको सुनिश्चितता हो," उनले भनिन्, "यदि राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ।"
सीमा क्षेत्रको स्थायी समाधानका लागि छिमेकी मुलुकसँग छलफल गर्नुपर्ने सुझाव दिँदै उनले भनिन्, "आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल (वाल) लगाउनुपर्यो, नत्र भए काँडे तारबार पनि लगाइयोस् ।"
सांसद तामाङले देशको अस्मिता र भूगोलको रक्षाका लागि सरकारले खुट्टा कमाउन नहुने भन्दै तत्कालै कूटनीतिक र प्राविधिक रूपमा सीमा व्यवस्थापनको काम अघि बढाउन माग गरिन्।