काठमाडौं, जेठ २८ :

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका लागि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले गम्भीर पहलकदमी लिन जरुरी रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले अहिले पार्टीको जनाधार खस्किएको अवस्थामा विशेष महाधिवेशनबाट निर्वाचित प्राविधिक रूपमा आधिकारिकता प्राप्त नेतृत्वले बृहत्तर एकताका लागि पहलकदमी लिन जरुरी रहेको बताए  ।

समयमा नै पार्टीभित्र बृहत्तर एकता नभए लोकप्रिय पार्टीको रूपमा स्थापित फेरि पुनस्र्थापित गर्ने अभियान कमजोर हुने उनले बताए । उनले अहिले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबाट पार्टीको एकताका लागि प्रभावकारी काम हुन नसकेको धारणा राखे ।

नेता महतले बृहत्तर एकताका लागि पन्ध्रौँ महाधिवेशनको निष्पक्ष निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुन जरुरी रहेको स्पष्ट पारे । त्यसका लागि यसअघिको नियमित महाधिवेशनको नेतृत्वकर्ता र विशेष अधिवेशनबाट निर्वाचित भएको नेतृत्वकर्ताबीच समझदारी बन्न जरुरी रहेको उनले बताए ।

महतले आफूहरुले अहिले कुनै ठुलो भागवण्डाको पनि कुरा नरहेको र पन्ध्रौँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितताको ग्यारेन्टी खोजेको उल्लेख गरे।

निर्वाचन प्रक्रियालाई अगाडि बढाउने, क्रियाशील सदस्यता टुङ्ग्याउने र विधान संशोधनका बिषयलाइ समझदारीका साथ टुङ्ग्याउन सके पारदर्शी र निष्पक्ष महाधिवेशनको सुनिश्चितता हुनसक्ने उनको भनाइ छ ।