महोत्तरी, जेठ २८ :

भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा रहेका १६ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ।

दिल्लीस्थित नेपाली दूतावासमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरू मंगलबार दिल्ली हुदै नेपाल ल्याईएको हो ।  बुधबार अपराह्न करिब ४ बजे सीमा नाकामा आइपुगेका उनीहरू महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका बासिन्दा हुन्।

रोजगारीको आशामा हरियाणा पुगेका उनीहरूले अपेक्षित काम नपाएको, तलब रोकिएको तथा विभिन्न किसिमका दुर्व्यवहार र कुटपिटको सामना गर्नुपरेको भन्दै परिवारलाई  बताएका थिए । त्यसपछि बर्दिबास इलाका प्रहरी कार्यालयको सूचनाका आधारमा नेपाली दूतावास, हरियाणा प्रहरीको मानव तस्करीविरुद्धको इकाई, भारत सरकारका सम्बन्धित निकाय तथा आफन्त इण्डिया फाउन्डेशनको समन्वयमा उनीहरूको उद्धार गरिएको थियो।

उनीहरूको अवस्था अत्यन्तै नाजुक रहेको पाइएपछि रोजगारदाताबाट बाँकी पारिश्रमिकसमेत दिलाई स्वदेश फर्काउने व्यवस्था मिलाइएको हो।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उद्धार कार्य सफल बनाउन सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गर्दै स्वदेश फर्किएका नागरिकहरूलाई सुरक्षित रूपमा घर पठाउने व्यवस्था गरिएको जानकारी दिए।

उद्धार गरिएकाहरूलाई वडा नं. १४ का वडाध्यक्षले उपलब्ध गराएको बसमार्फत बर्दिबासस्थित घर पुर्‍याइएको छ।