
सरकारले देशको यातायात सञ्जाललाई आधुनिक र सुरक्षित बनाउन भौतिक पूर्वाधारका क्षेत्रमा ठूलो लगानी र रूपान्तरणकारी योजनाहरू अघि सारेको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सडक, पुल र सुरुङमार्ग निर्माणका आगामी लक्ष्य र बजेटबारे विस्तृत विवरण सार्वजनिक गरे ।
मन्त्री वाग्लेका अनुसार १०२८ किलोमिटर लामो पूर्व-पश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र पूर्ण रूपमा चार लेनमा स्तरोन्नति गर्ने कार्य सम्पन्न गरिनेछ। यसै आर्थिक वर्षभित्र कमला-कञ्चनपुर र नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नति कार्य सम्पन्न हुनेछ।
यस्तै, आगामी वर्ष अन्य खण्डहरूको स्तरोन्नति कार्य सुरु गरिनुका साथै पकली-कञ्चनपुर र चन्द्रौटा-कोहलपुर-गड्डाचौकी सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरिनेछ। यो राजमार्गको स्तरोन्नतिका लागि सरकारले रु. ३७ अर्ब ४६ करोड विनियोजन गरेको छ।
सरकारले आगामी वर्षभित्र देशभरी करिब एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २७५ वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिएको छ।
मुलुकका प्रमुख सडक खण्डहरूमा यातायात सहज बनाउन आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि सरकारले रु. १७ अर्ब ६४ करोड बजेट व्यवस्था गरेको छ।
यसैगरी, दक्षिण क्षेत्रको मेरुदण्ड मानिएको हुलाकी राजमार्गको निर्माण कार्य आगामी ३ वर्षभित्र सम्पन्न गरिने घोषणा गरिएको छ। तीव्र सहरीकरण भएका क्षेत्र र बस्ती भएका स्थानबाट राजमार्ग चौडा गर्ने कार्य यसै वर्ष सुरु गरिनेछ भने आगामी वर्ष ८ वटा सडक पुलको निर्माण सकिनेछ। हुलाकी राजमार्गका लागि रु. ४ अर्ब ६५ करोड विनियोजन गरिएको छ।
कर्णालीलाई विशेष प्राथमिकता
दुर्गम र विकासका दृष्टिले पछि परेको कर्णाली क्षेत्रको सडक पूर्वाधारलाई सुदृढ बनाउन सरकारले विशेष ध्यान दिएको छ। सांसद वाग्लेले कर्णाली क्षेत्रका सडक तथा यातायात पूर्वाधार विकासका लागि मात्रै रु. १ अर्ब बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो।