तेल बोक्ने ट्याङ्करभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ठूलो परिणाममा प्रतिबन्धित लागु औषध गाँजासहित आज दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका- १५ रातोमाटेबाट पालुङबाट वीरगञ्ज तर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्करभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा तीन क्विन्टल ९२ किलो प्रतिबन्धित लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ट्याङकर चालक मकवानपुरको मनहरि गाउँपालिका- ९ ज्यामिरे निवासी २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।
ट्याङ्करभित्र गाँजा लागिइरहेको गोप्य सूचनाको आधारमा शरीर तथा ट्याङ्कर खानतलासी गर्दा ट्याङ्करको पाँचवटा डिब्बा मध्ये तीन नम्बर डिब्बाभित्र २५ वटा रातो प्लाष्टिकको पोका बनाएर लुकाई छिपाई राखिएको अवस्थामा लागु औषध गाँजा बरामद् भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।