काठमाडौं, जेठ ८ :

यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ। विभागले सातै प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारीसाधनको नयाँ दर्ता नगर्न आग्रह गरेको हो।

विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन प्रभावकारी हुन नसक्दा वायु प्रदूषण, सवारी चाप र ट्राफिक जाम बढ्दो क्रममा छन्। साथै इन्धनको मूल्यवृद्धिले सार्वजनिक यातायात क्षेत्र थप प्रभावित बनेकाले यस्तो निर्णय लिनुपरेको जनाएको छ।

विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित कारण देखिएमा सवारी दर्ता रोक्का गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ।

जारी पत्रमा सार्वजनिक सवारीसाधनसँगै विद्युतीय सार्वजनिक सवारीसाधनको नयाँ दर्तासमेत अर्को व्यवस्था नभएसम्मका लागि रोक्का गरिएको जनाइएको छ।