काठमाडौं, जेठ ६ :

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार कसैले हनन गर्न नसक्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध रहेको भन्दै संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार कसैले हनन गर्न नसक्ने बताएका हुन् । उनले राज्यको अंगको रुपमा स्वीकारेको सञ्चार क्षेत्रले आफ्नो ओज र गरिमालाई कायम गर्ने गरी कार्य गर्दा सरकारले चाहेर पनि केही गर्न नसक्ने उनले बताए ।

प्रेस स्वतन्त्रतासंगै जवाफदेहीको प्रश्न पनि भुल्नु नहुने उनको भनाइ छ । उनले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी  प्रभावकारी र सशक्त बनाई नेपालको मिडिया क्षेत्रलाई स्वच्छ जवाफदेही गौरव गर्न सकिने क्षेत्रको रुपमा विकास गर्न सरकार प्रयत्नशील रहेको धारणा राखे ।

त्यस्तै उनले नेपालको दुर्गम र बढी व्यवसायीक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढाउने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले मौलिक पहिचान दिलाउने गरी निर्माण गरिने चलचित्रलाई प्रोत्साहन अनुदान दिने, डिजिटल नेपालको लक्ष्यलाई व्यहारमा उतार्ने कार्ययोजनाका साथ सरकार अघि बढेको जानकारी दिए ।