शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बाढीपहिरोले सडक अवरुद्ध भएपछि काभ्रेका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

· सोमबार, २२ असोज, २०८१ मा प्रकाशित
बाढीपहिरोले सडक अवरुद्ध भएपछि काभ्रेका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै
काभ्रे, असोज २२ :

गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्न लगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ ।

आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामल लगायत खाद्यान्न सामग्री पठाउन थालेको हो ।

आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताउनुभयो । 

उहाँले आज उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइने बताउनुभयो। भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहायता लिएको हो ।
 
बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्न लगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताउनुभयो । 

उहाँका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ । आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिन लगायतको राहत सामग्री पठाइने हुमागाईँले बताउनुभयो । 

पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडा स्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो । सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एक पटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ ।

संस्थाले अन्यत्र यस्तै अवस्थाको खबर आएकाले त्यस्ता स्थानमा प्राथमिकताका आधारमा ड्रोनमार्फत नै  खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ । 

त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्याङ्क सङ्कलनसमेत भएको हुमागाईँले बताउनुभयो ।

गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् । यो सङ्ख्या गत साताको विपद्मा परी देशभर मृत्यु हुने सङ्ख्या मध्ये ३१ दशमलव ५६ प्रतिशत हो ।

तथ्याङ्कअनुसार देशभर बाढीपहिरोबाट हालसम्म दुई सय ४४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार