
प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सिफारिसमा प्रधानमन्त्री शाहले विवादमा तानिएका मन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।
चैत १३ गते मन्त्री नियुक्त भएका साहलाई पछिल्लो समय मन्त्रिपरिषद्को वरियताक्रममा पनि पुछारमा झारिएको थियो। साह महोत्तरी-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने पार्टीसमक्ष पेस गरेको थियो । रास्वपाले साहको यो गतिविधिबाट पार्टीको छवि, आर्दश, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्षसमेत निकालेको थियो । यसैका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (राईट टु रिकल) सक्ने व्यवस्था भएकाले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो ।