काठमाडौं, चैत २५ :

प्रधानमन्त्री वालेन्द्र शाहले मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताएका छन् । नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँग बुधबार सिंहदरबारमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । 

यसअघिका प्रधानमन्त्रीहरुले गर्ने गरेको व्यक्तिगत भेटघाट र छलफललाई अन्त्य गर्दै उनले सामूहिक भेट गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्रीले कूटनीतिक नियोगका प्रमुखहरुसँग के कस्ता विषयमा सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने बारेमा धारणा बुझेका थिए ।

“नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ । हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,” प्रधानमन्त्री शाहले भने, “नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गरेकोमा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।”

विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री शाहले भने, “चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु । यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”

प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न,उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताए । उनले राष्ट्रिय हितअनुकूल हुनेगरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको पनि उल्लेख गर्नुभयो ।

“नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन । हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,” प्रधानमन्त्री शाहले भने । उनले विकास, व्यापार, लगानी, जलवायु अनुकुलनका कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिए । यसैगरी विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको विषयमा उनले जोड दिए ।