काठमाडौं, चैत १८ :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुगम क्षेत्रका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकलाई दरबन्दी भएको स्थानमा फर्काउने अभियान तीव्र पारेको छ।

स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले नवौँ र दशौँ तहका थप ७ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गर्ने निर्णय गरेको हो। यसअघि मंगलबार १४ जनालाई फिर्ता गरिएको थियो।

मन्त्रालयका अनुसार डा. दिनेश शिवाकोटी, डा. चुनु दर्नाल, डा. प्रमोद कट्टेल, डा. सोहनी बज्राचार्य, डा. श्याम किशोर चौधरी, डा. दिवस सापकोटा र डा. रन्जु पोखरेललाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ। उनीहरू यसअघि कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीर अस्पतालमा काजमा कार्यरत थिए।

यता वीर अस्पतालले सेवा प्रवाह र अनुशासन सुधार गर्न कडा निर्देशन जारी गरेको छ। अस्पतालले चिकित्सक तथा कर्मचारीलाई बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अनिवार्य उपस्थित हुन, ढिलो आए वा बिना सूचना अनुपस्थित भए कारबाही गर्ने जनाएको छ।

अस्पतालले कार्यालय समयमा अन्यत्र काम नगर्न, निर्धारित पोशाक (एप्रोन) र परिचयपत्र अनिवार्य लगाउन तथा बिरामीसँग ‘मुस्कानसहितको सेवा’ दिन निर्देशन दिएको छ। साथै, बिरामीका कागजातमा चिकित्सकको नाम, एनएमसी नम्बर र हस्ताक्षर स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।निर्णयमा कर्मचारीहरू उच्च निकायको निगरानीमा रहने र कार्यक्षेत्रमा नभेटिएमा स्वयं जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ।