काठमाडौं, चैत १६ :

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरुलाई आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै नेता खड्काले संसदमा आफ्ना सांसदहरुको भूमिका प्रभावकारी र अनुकरणीय रहने बताए ।

पार्टीको इतिहास र आदर्शका साथै नेपाल र नेपाली जनताको हितका लागि संसदमा प्रखर रुपमा प्रस्तुत हुन समेत उनले सुझाव दिए ।

नेता खड्काले संख्याको हिसाबले केही कम भएपनि नेपालको लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनको इतिहासको सिङ्गो धरोहर बोकेर कांग्रेसका सांसदहरुको भूमिका निकै महत्वपूर्ण हुने धारणा राखे ।

यसअघि पार्टीले अघि सारेको संविधान संशोधनको मूल मुद्दालाई समेत सशक्त ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले सांसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुले राष्ट्रका मुद्दाहरुलाई सदैव प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे । उनले पहिले जस्तै सांसदहरुसंगको छलफल निरन्तर हुने भन्दै संसद बाहिर रहेका नेताहरुले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आवश्यक परेको खण्डका संसदमा आउने महत्वपूर्ण विषयमा विज्ञहरुसंग समेत छलफल गराउने बताए ।