काठमाडौं, चैत ६ :

परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै नेपालीहरुलाई गन्तव्यतर्फ पठाइसकिएको जनाएको छ । 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ट्रान्जिटमा परेका सवै नेपालीहरुलाई दूतावासको समन्वयमा गन्तव्यतर्फ पठाइसकिएको जानकारी दिए । 

अहिलेको अवस्थाका कोही पनि नेपालीहरु ट्रान्जिटमा समस्यामा नरहेको जानकारी प्राप्त भएको उनले बताए । जेद्दामा समस्या परेका ५२ जना हजयात्रीको पनि व्यवस्थापन गरेर स्वदेश फर्किसकेको मन्त्रालयले जनाएको छ ।

उनले द्वन्द्वका कारण नेपालीलाई पर्न सक्ने असरलाई मध्यनजर गर्दै सरकारले दूतावासमार्फत निरन्तर सम्बन्धीत देशका प्रतिनिधिहरुसँग जानकारी प्राप्त गरिरहेको जानकारी दिए । 

प्रवक्ता पौडेलले पश्चिम एसिया समस्यामा परेका नेपालहरुको गुनासो सुन्न तयार गरिएको अनलाइन प्रणालीमा हालसम्म ८२ हजार १ सय नेपालीले आफ्नो नाम दर्ता गरेको उल्लेख गरे । त्यसमध्ये ६ हजार जनाले असुक्षित भनेकोमा पछिल्ला दिनमा असुक्षित छु भन्नेको संख्या निकै घटेको उनले बताए ।

पश्चिम एसियाका केही दिनमा द्वन्द्वको भिडियो सामाजिक सञ्जालमा राख्ने केही नेपालीहरु कारबाहीमा परेको जानकारी प्राप्त भएको उहाले जानकारी दिए ।