
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले शनिबार विज्ञप्ति जारी गर्दै तत्कालका लागि दलीय राजनीतिबाट बिदा लिने घोषणा गरेका हुन्।
उनले आजैको मितिबाट लागू हुने गरी पार्टीका सबै पद तथा जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन्। प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–१ बाट पराजित भएपछि उनले यस्तो निर्णय लिएका हुन्। निर्वाचन परिणामपछि आफ्नो राजनीतिक यात्राको समीक्षा गर्दै उनले दलीय राजनीतिबाट केही समयका लागि अलग रहने बताएका छन्।
मिश्रले दलीय राजनीतिबाट अलग भए पनि आफूले उठाउँदै आएका मुद्दाहरू भने यथावत रहने स्पष्ट पारेका छन्। विशेषगरी राजसंस्थाको पुनःस्थापना, सुशासन तथा संरचनागत पुनरावलोकनका विषयमा आफ्नो अडान कायम रहने उनले बताएका छन्।
उनले बदलिँदो भूराजनीतिक अवस्था र आन्तरिक परिस्थितिका कारण देशलाई सही दिशामा लैजान नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। राजसंस्थाको पुनःस्थापनाविना भावी पुस्ताका लागि देश बचाउन र बनाउन कठिन हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।
गत नौ वर्षको राजनीतिक यात्रामा आफूले आफ्नो विवेक र क्षमताअनुसार इमानदारीपूर्वक राजनीतिक तथा राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको उल्लेख गर्दै उनले त्यो प्रयास पर्याप्त नभएको अनुभूति भएको बताएका छन्। यद्यपि देशभन्दा माथि व्यक्तिगत स्वार्थ राखेर कुनै पनि काम नगर्ने प्रतिबद्धता उनले दोहोर्याएका छन्। मिश्रले अब केही समय स्वतन्त्र रूपमा आफ्ना विचार र अडानहरू सार्वजनिक गर्दै जाने पनि बताएका छन्।