बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश मधेस प्रदेश

सर्लाही ४ का लागि कांग्रेस सभापति थापाले सार्वजनिक गरे आफ्नो प्रतिज्ञा पत्र

· मंगलबार, १२ फागुन, २०८२ मा प्रकाशित
सर्लाही ४ का लागि कांग्रेस सभापति थापाले सार्वजनिक गरे आफ्नो प्रतिज्ञा पत्र
कैलाली, फागुन १२ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।

थापाले स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तीकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा राख्दै प्रतिज्ञा सार्वजनिक गरेका हुन् ।

थापाले मतदातालाई सम्बोधन गर्दै मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण आधार भूमि रहेको उल्लेख गरेका छन् । उनले मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।

उनले आफू सर्लाही आउनुअघि हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा यहाँका गाउँबस्तीमा पुगेको बताए भन्दै सो क्रममा अलपत्र पुल, डुबानको समस्या, कमजोर सडक तथा आधारभूत सेवाको अभावजस्ता समस्याहरू नजिकबाट देखेको उल्लेख गरेका छन् ।

विभिन्न समुदायका नागरिकसँग छलफलपछि स्थानीय समस्या समाधानका लागि योजना तयार गरिएको उनले बताएका छन् ।

स्थानीय नागरिकबाट पुल निर्माण, बाँध मर्मत, डुबान नियन्त्रण, सडक, नहर, ढल निकास, खानेपानी, सिँचाइ, कृषि भण्डारण लगायतका समस्या बारम्बार उठेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले पार्टीको सिंगो प्रतिज्ञा पत्र सार्वजनिक गरेको पाँच दिनपछि विभिन्न नौ ओटा अभियानलाई बुँदागत रूपमा समेट्दै प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् ।

थापाले “कृषि उत्थान, किसान गौरव अभियान” अन्तर्गत उखु बक्यौता भुक्तानी, मल र बिउको सहज उपलब्धता, शीत भण्डार निर्माण, न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने र कृषि उद्यमका लागि सहुलियत ऋण उपलब्ध गराउने योजना रहेको थापाले बताएका छन्। उनले सर्लाहीमा आपत्कालीन मल भण्डार स्थापना र मल कारखाना मधेशमा ल्याउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

साथै उनले “कापी कलम अभियान” अन्तर्गत गणित, विज्ञान र अंग्रेजी शिक्षकको व्यवस्था, विद्यालयलाई प्रविधिमैत्री बनाउने, विपन्न तथा दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिने, मातृभाषामा शिक्षा सुनिश्चित गर्ने र प्राविधिक शिक्षा विस्तार गर्ने योजना प्रस्तुत गरेका छन्। साथै छोरीहरूको शिक्षालाई प्रोत्साहन गर्न “सबल छोरी अभियान” सञ्चालन गरिने उनले बताएका छन् ।

“स्वस्थ नागरिक अभियान” अन्तर्गत स्थानीय स्वास्थ्य संस्थामा जनशक्ति र पूर्वाधार विस्तार, प्रत्येक स्थानीय तहमा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, सर्पदंश तथा कालाजारको निःशुल्क उपचार, मोबाइल क्लिनिक सेवा, कुपोषण न्यूनीकरण कार्यक्रम र लागुऔषध विरुद्ध अभियान सञ्चालन गर्ने योजना उनले सार्वजनिक गरेका छन्। साथै आधुनिक उपकरणसहित मधेश मिर्गौला उपचार केन्द्र स्थापना गर्ने लक्ष्य पनि उनले उल्लेख गरेका छन्।

बाढी र डुबान समस्या समाधानका लागि बागमती नदी क्षेत्रमा तटबन्ध निर्माण, मनुस्मरा नहर बाँध मर्मत, अर्ली वार्निङ प्रणाली, वृक्षारोपण र पानी संरक्षण कार्यक्रम सञ्चालन गर्ने योजना उनले अघि सारेका छन्। चुरे संरक्षण अभियान सञ्चालन गर्ने पनि उनले बताएका छन् ।

“मिसन रोजगारी अभियान” अन्तर्गत सीप विकास तालिम, रोजगार सूचना केन्द्र स्थापना, युवा उद्यमशीलता प्रवर्द्धन, वैदेशिक रोजगारमा जाने युवालाई सहजीकरण तथा विदेशबाट फर्केका युवालाई उद्यममा जोड्ने कार्यक्रम सञ्चालन गरिने उनले बताएका छन् ।

भारतसँग जोडिएको करिब ३० किलोमिटर सीमा क्षेत्रमा “दशगजा उज्यालो अभियान” सञ्चालन गरिने थापाले बताएका छन् । यसअन्तर्गत सीमा क्षेत्रमा हाईमास्ट सौर्य बत्ती जडान, छोटी भन्सार व्यवस्थित गर्ने तथा सीमावर्ती गाउँमा विशेष विकास कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन् ।

महिलाका लागि सहुलियत कर्जा, घरेलु हिंसा र बालविवाह विरुद्ध अभियान, दलित समुदायका लागि शिक्षा र रोजगारी कार्यक्रम तथा स्थानीय भाषा, कला, संस्कृति र धार्मिक स्थल संरक्षणका कार्यक्रम पनि प्रतिज्ञा पत्रमा समेटेका छन् ।

सभापति थापाले नागरिकका समस्या प्रत्यक्ष सुन्न र समाधान गर्न क्षेत्रमै “जनता दलान” नामक सांसद कार्यालय स्थापना गर्ने बताएका छन् ।

उनले सुशासन र समुन्नतिका लागि आफूलाई समर्थन गर्न मतदातासँग आग्रहसमेत गरेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार