काठमाडौं, फागुन ७ :

७६औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा गोकर्णेश्वर नगरपालिकाले उत्साहजनक सहभागिता जनाएको छ।

उक्त समारोहमा नगरपालिकाको टोली मौलिक नेवारी बाजागाजासहित सहभागी भएको थियो। ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ लेखिएको ब्यानर र नेपालको राष्ट्रिय झन्डा बोकेर सहभागी प्रतिनिधिहरूले टुँडिखेल परिसरमा मार्चपास गर्दै आफ्नो उत्साहजनक उपस्थिति जनाए।

नगरपालिकाका प्रतिनिधिहरूले स्थानीय कला, संस्कृति र मौलिक पहिचान झल्कने वेशभूषा र बाजागाजासहितको प्रस्तुति दिएका थिए, जसले समारोहमा विशेष आकर्षण थपेको थियो।  सरकारको आह्वानमा हुने यस्ता कार्यक्रमहरूमा गोकर्णेश्वर नगरपालिकाले सक्रिय सहभागिता जनाउँदै आएको छ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, मन्त्रिपरिषद्का सदस्यहरू, सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू तथा कूटनीतिक नियोगका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो।