एमालेले विराटनगरका विभिन्न वडामा रहेका आफ्ना निर्वाचन परिचालन कार्यालयमा तोडफोड भएको जनाएको छ। सोमबार महानगर कमिटीका अध्यक्ष बलराम गिरीले प्रेस विज्ञप्ति जारी गरी विराटनगर वडा नं. १७ र वडा नं. १५ मा रहेको निर्वाचन परिचालन कमिटीको कार्यालयमा तोडफोड भएको जनाएको छ। आफ्ना कार्यालयमा भएको तोडफोडको घटनाप्रति एमालेले भर्त्सना गरेको छ।
यस्तो अराजक गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउन एमालेले प्रशासनसँग माग गरेको छ। विज्ञप्तिमा निर्वाचन आचारसंहिता विपरीतका यस्ता घटनाको विशेष निगरानी र अनुगमन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएको छ। एमालेले हतोत्साही मानसिकताबाट ग्रसित तत्वहरूले आफ्ना कार्यालयमा तोडफोड गरेको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।