फाइल तस्बिर ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा जसपाका नेताहरुलाई कांग्रेस प्रवेश गराउदै शर्माले आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने गरी परिवर्तित अवस्थामा जनताको विश्वास जित्नेगरी अघि बढेको बताएका हुन् । उनले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको समेत दाबी गरे ।
अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै उनले यही गतिमा जनमत बढ्दै जाँदा एक हप्ताभित्रमा कांग्रेस बहुमत ल्याउने तहमा पुग्ने दाबी गरे । जेन–जी मुभमेन्टपछि सबै भन्दा परिवर्तन भएको पार्टी कांग्रेस मात्रै भएको उनको भनाइ छ ।
शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेताकार्यकर्ताहरू एक ढिक्का भएर लागेको र पार्टी नेता कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको बताए । कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार सुस्मिता थापामगरसहित नेताहरू कांग्रेसमा प्रवेश गरेका थिए ।