
निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच सहकार्यको सम्झौता भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हो ।
समझदारीमा आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटककातर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गरेका छन्।
त्यसअवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्नसक्ने चिन्ता व्यक्त गरे ।
टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् । प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्ने बताए । उनले निर्वाचन प्रयोजनार्थ टिकटकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।टिकटकले नेपालमा पवित्र सोचका साथ निःशुल्क निर्वाचन सफल बनाउने काम गर्न लाग्नु आफैँमा महत्त्वपूर्ण कुरा भएको बताए। निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरुले पहल गर्ने टिकटकले प्रतिबद्धता जनाएको छ ।
टिकटक जस्ता प्लेटफर्महरूबाट प्राप्त प्रतिबद्धता तथा सहयोगलाई आयोगले सकारात्मक रूपमा लिएको छ । विश्वव्यापी रूपमा सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित हुने जोखिम बढ्दै गएको अवस्थामा नेपालको निर्वाचन आयोगले प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै दुरुपयोग रोक्न कडा कदम चाल्ने तयारी गरेको छ ।
त्यसअवसरमा आयुक्त भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका अधिकारीहरूको उपस्थिति थियो ।