काठमाडौं, माघ १६ :

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले युवा तथा महिलालाई व्यवसाय सञ्चालनतर्फ प्रोत्साहन गर्दै आएको छ । नगरपालिकाले पालिकाभित्रका युवा तथा महिलालाई उद्यमशीलतामा जोड्ने उद्देश्यले विगतदेखि नै विभिन्न किसिमका आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

यसैक्रममा हाल काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको महोत्सवमा पनि नगरपालिकाको सहयोगमा उद्यमीहरुका लागि स्टल व्यवस्थापन गरिएको छ । नगरपालिकाले सातवटा स्टलको व्यवस्था गरी स्थानीय उद्यमीहरुलाई आफ्ना उत्पादन तथा सेवाको प्रवर्द्धन गर्न सहजीकरण गरेको हो ।

महोत्सवमा सहभागी उद्यमीहरुले नगरपालिकाको सहयोगले आफूहरुलाई व्यवसायमा लाग्न हौसला मिलेको बताउँदै व्यक्तित्व विकास तथा सचेतना अभिवृद्धिमा समेत टेवा पुगेको प्रतिक्रिया दिएका छन् । नगरपालिकाको साथले आफ्नो जीवनस्तर उकास्न मद्दत पुगेको भन्दै उनीहरुले नगर प्रमुख दीपक रिसालसहित कार्यपालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।

काठमाडौं उपत्यकाभित्रका नगरपालिकामध्ये गोकर्णेश्वर नगरपालिका स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने पालिकाका रूपमा चिनिँदै आएको छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रूपमा सम्पन्न यस नगरपालिकाले फोहोर व्यवस्थापनदेखि स्वरोजगार प्रवर्द्धनमा पनि भूमिका निर्वाह गर्दै आएको छ ।