
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि –२०८२’ पारित गरेको छ ।
यही पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरेको हो ।
बन्दसत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समिति विघटन र १५औँ महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ।
निर्वाचन सम्पन्न गर्न पाँच सदस्यीय निर्वाचन समिति गठन, केन्द्रीय कार्य समिति, केन्द्रीय कार्य सम्पादन समितिले गरेका निर्णयहरू आवश्यक परे खारेजी गर्ने, विशेष महाधिवेशन वैधानिक रहेको पनि प्रस्ताव गरिएको छ।
बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश-बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका छन्।
कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन विसं २०७८ (मङ्सिर २४ देखि २८) देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रिय कार्यसमितिको विघटन गर्ने र कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रिय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ ।
यसैगरी, विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्नेछन्, निज अनुपस्थित भएको खण्डमा महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था उल्लेख छ ।
यसैगरी, ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष केन्द्रीय महाधिवेशनको बन्दसत्र सञ्चालन भएको अवस्थामा बन्दसत्र कार्यक्रमको सहजता र निरन्तरताका लागि महाधिवेशन प्रतिनिधिमध्ये पाँच सदस्यीय अध्यक्षता मण्डल गठन गरिने कार्यविधिमा उल्लेख छ ।