सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै युवाहरु नीति निर्माण गर्ने तहमा पुग्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा सूचना प्रविधि विभागसँग छलफल गर्दै मन्त्री खरेलले जेनजी आन्दोलनपछि युवाहरुलाई पनि राज्यको मूलधारमा ल्याउनका लागि आवश्यक व्यवस्था भएको भन्दै निर्वाचनपछि धेरै युवाहरु नीति निर्माण गर्ने तहमा पुग्ने बताएका हुन् ।
निर्वाचनपछिको नयाँ संसदमा युवाहरुको वर्चस्व हुने उनको भनाइ छ । उनले अन्य देशको तुलनामा नेपालको सूचनाप्रविधि क्षेत्र निकै पछाडी परेकाले यसलाई समयानुकल बनाउन ढिलाई गर्न नहुने बताए । अब युवाहरुले नै सूचना प्रविधिका माध्यमबाट नेपाल बनाउने आधार तयार भएको उनले बताए ।
मन्त्री खरेलले सूचना प्रविधि विभागलाई आवश्यक स्रोत साधन व्यवस्थापनका लागि मन्त्रालयले गम्भीर भएर काम गरिरहेको उल्लेख गरे । आफ्नो कार्यकाल सकिएपछि पनि सचेत नागरिकको रुपमा सदैव देशका लागि काम गर्ने मन्त्री खरेलले बताए ।