
फाइल तस्बिर ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सरकारसँग भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको जानकारी दिए। उनका अनुसार आइतबार सम्झौता गरी त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएकी छन्।
प्रसाईंले भने, ‘अब पनि सरकार गम्भीर भएन र आइतबारसम्म सम्झौता भएन भने हामी आन्दोलनमा जान्छौं।’ उनले यो सरकारसँग तेस्रो पटकको वार्ता भएको उल्लेख गर्दै आफ्ना माग–मुद्दामा बेवास्ता भए संघर्ष अपरिहार्य हुने बताए। साथै उनले लोकतन्त्रको अधिक प्रयोगका लागि जनमत संग्रहको सुझावसमेत दिएको जानकारी दिए।
वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले तत्काल पूरा गर्न सकिने मागबारे अध्ययन गरी उचित निकास निकाल्ने आश्वासन दिएको बताइएको छ।
यसैबीच, सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाऊ अभियानबीचको वार्ता सकारात्मक भएको बताए। सम्भव हुने मागहरू पूरा गर्न सरकार प्रतिबद्ध रहेको र मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धिका विषयमा दुवै पक्षबीच मतभेद नरहेको उनले स्पष्ट पारे। साथै मुलुक निर्वाचनतर्फ अघि बढिसकेको भन्दै चुनाव सुनिश्चित गर्न सबै पक्षसँग निरन्तर संवाद भइरहेको खरेलले जानकारी दिए।