काठमाडौं, पुस १४ :

कागेश्वरी मनोहरा नगरपालिकाको तेह्रौं नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । थलीस्थित नगरपालिकाको सभा हलमा भएको अधिवेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले प्रगति विवरणसहित आगामी बजेट संशोधनसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

अधिवेशनले चालु आर्थिक वर्षको बजेट संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसअघि गत नगरसभामा ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरको बजेट अनुमान गरिएको भए पनि यसपटक करिब २ अर्ब रुपैयाँको बजेटलाई उपयुक्त मानिएको नगरप्रमुख कार्कीले बताए ।

उनका अनुसार पछिल्लो समय देखिएका आर्थिक चुनौतीलाई मध्यनजर गर्दै बजेटको आकार घटाउनुपर्ने अवस्था आएको हो । केही राजस्व वृद्धि गर्न सकिने सम्भावनाका योजनाहरूलाई पनि अघि सारिएको उनले जानकारी दिए ।

नगरप्रमुख कार्कीले भदौ २३–२४ मा भएको घटनापछि केही विकास निर्माणका योजनामा प्रत्यक्ष असर परेको बताए । संघीय तथा प्रदेश सरकारबाट अपेक्षित रूपमा अनुदान प्राप्त हुने आशा भए पनि पछिल्लो समय थप चुनौतीहरू देखिएको उनको भनाइ छ ।

चुनौतीलाई ध्यानमा राख्दै नगरपालिकाले हरेक क्षेत्रको बजेट २५ प्रतिशतका दरले कटौती गर्ने प्रस्ताव अघि सारेको छ । सोअनुसार वडामा विनियोजन गरिएको रकम, विभिन्न शाखामा छुट्याइएको बजेट तथा नगरस्तरीय योजनाहरूमा समेत २५ प्रतिशत कटौती गर्ने योजना रहेको नगरप्रमुख कार्कीले बताए ।

अधिवेशनमा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडाध्य तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।