
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित आठ जना निवर्तमान सांसदलेे मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।
रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै अन्तरिम आदेश माग गरिएको थियो। अहिलेसम्म परेका २० वटा रिटमा सर्वोच्चले कारण देखाउ आदेश मात्रै दिएको छ।
रिटमाथि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो।
रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ ।