स्याङजा, मंसिर २५ :

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले सेवाभावले गरिएको कामको प्रचारप्रसार कम हुने गरेको बताएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित अमोर सेवा नेपाल बालगृहमा शनिबार पुगेर उनले मानव सेवाभन्दा ठुलो धर्म केही नभएको उल्लेख गरे।

बालगृहकी सञ्चालिका कमला पराजुलीले अभिभावकहीन बालबालिकाको भर्ना, संरक्षण र व्यवस्थापनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै गुरुङले भने, “सहाराविहीन बालबालिकाका अभिभावक बनेर जुन कर्म गर्नुभएको छ, त्यहीँ धर्म हो, धर्म गर्न अन्यत्र कतै जानु पर्दैन।” 

देश सुन्दर बनाउन बालबालिकाको भविष्य सुन्दर हुनुपर्ने बताउँदै उनले विगतमा रुकुम भूकम्पमा अभिभावक गुमाएका पाँच बालबालिकालाई काठमाडौं ल्याएर शिक्षाको व्यवस्था मिलाएको जानकारी दिए। यस्तै स्याङ्जाको विरुवा गाउँपालिकाका अभिभावकविहीन एक बालकलाई समेत बसोबास र अध्यापनको व्यवस्था मिलाइदिएको उनले बताए।

बालबालिकाको भविष्यका लागि आफूले सकेको सहयोग निरन्तर गर्दै आएको उनले स्मरण गराउँदै यस्तो मानवीय कामको चर्चा खोज्न नहुने धारणा व्यक्त गरे।

डा. मनोर सयदको पहलमा उपलब्ध गराइएको न्यानो कपडा र हिटर गुरुङले बालगृहमा रहेका ४६ बालबालिकालाई हस्तान्तरण गरेका थिए।

बालगृह सञ्चालिका पराजुलीले सहाराविहीन बालबालिकाका अभिभावक बनेर जीवन व्यतीत गर्न पाउँदा आफूले जीवनको सार्थकता महसुस गरेको बताइन्। २०६८ सालदेखि वैदेशिक सहयोग बिना बालगृह सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले प्रचारप्रसारको अभावमा संस्थाले धेरै पटक कठिनाइ भोग्नु परेको पनि सुनाइन्। डा. सयदले भने वर्षमा एक पटक आफूले सक्दो सहयोग लिएर आउने गरेको बताए।