
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गरिएको छ । पदअनुकूल आचरण नगरेको आरोपमा दर्ता भएको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि उनी पदमुक्त भएका हुन्। बुधबार बसेको प्रदेश सभा बैठकले प्रस्तावमाथि छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत प्रस्ताव पारित गरेको हो।
उपसभामुख बबिताकुमार राउत ईशरले प्रस्तावका पक्षमा ७६ मत परेको र कुल ७८ सांसद उपस्थित रहेकाले आवश्यक बहुमत प्राप्त भएको घोषणा गरिन्। प्रस्ताव पारित भएसँगै मण्डल सभामुख पदबाट मुक्त भएका हुन्।
सभामुख मण्डलविरुद्धको प्रस्ताव गत २७ कात्तिकमा सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले दर्ता गराएका थिए। सो प्रस्तावमाथि छलफलका लागि उपसभामुख ईशरले बुधबारको बैठक आह्वान गरेकी थिइन्।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रस्ताव पेस गरेका थिए। छलफलमा लोसपाका सांसद उपेन्द्र महतो, जसपा नेपालका सांसद मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी जीवछीदेवी यादव, नेकपा (एकीकृत समाजवादी) का गणेश पटेल र प्रमोद यादवले आफ्ना धारणा राखेका थिए। यस प्रक्रियामा नेकपा एमालेका सांसदहरू भने सहभागी भएनन् ।