काठमाडौं, कात्तिक २४ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा देखिएको अ-राजनीतिक घटनाप्रति दुःख प्रकट गरेका छन् । सोमबार  सामाजिक सञ्जाल टुइटरमार्फत प्रतिक्रिया जनाउँदै महामन्त्री शर्माले नागरिक पङ्क्तिमा सङ्घीयताप्रति वितृष्णा बढाउने घटनाहरू निन्दनीय भएको उल्लेख गरे ।

उनले भने, ‘१६८(२) अनुसार सरकार बन्ने सम्भावना रहँदाहुँदै मञ्चन गरिएको ‘प्रहसन’लाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा राखेको छु।’

आइतबार राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

प्रदेश प्रमुख भण्डारीले बर्दिबास–सिन्धुली सिमानास्थित बर्दिबास–३ कालापानी पानस कटेजमा यादवलाई नियुक्तिपत्र प्रदान गरेकी थिइन्। मुख्यमन्त्रीमा यादवको नियुक्तिपछि मधेस प्रदेशको राजनीतिक घटनाक्रमले नयाँ मोड लिएको छ।