काठमाण्डौँ , असोज ७ :

गृहमन्त्री रमेश लेखकले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिए लगत्तै आरोपितहरू पक्राउ पर्न थालेका छन्। 

आजै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ।

त्यस्तै, सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का साभापति रवि लामिछाने समेत दोषी रहेको प्रतिवेदन सार्वजनिक भएको थियो।

अन्य आरोपितहरू पक्राउ पर्न थालेपछी रास्वपाले आफ्ना पार्टीका नेता कार्यकर्ताहरूलाई तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको थियो।

सोही अनुरूप अहिले रास्वपा पार्टी कार्यलयमा नेता कार्यकर्ताहरूको भिड बढेको देख्न सकिन्छ। 

समितिले कारबाही सिफारिस गरेका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछानेले पार्टी कार्यालयमै नेताहरूसँग आन्तरिक छलफल गरिरहेको जनाइएको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभापतिलाई पक्राउ पुर्जी जारी भएको खबर नआएको बताउनुभयो। बाहिर हल्ला गरेजस्तो कुनै जानकारी तथा सूचना नआएको र आफूहरू पार्टी कार्यलयमै छलफलमा रहेको सचेतक परियारले जानकारी दिनुभयो।

छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएको भन्दै लामिछाने सहितलाई कारबाहीको सिफारिस गरेको छ।

गृहमन्त्री रमेश लेखकले आजै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिनुभएको थियो।