
फाइल तस्बिर ।
नेपाली कांग्रेसको आगामी महाधिवेशन मितिबारे आन्तरिक मतभेद तीव्र बन्दै गएपछि शुक्रबारका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ। महामन्त्रीद्वय र कार्यबाहक सभापतिबीच सहमति नजुटेपछि बैठक रोकिएको हो।
दुई सातापछि बिहीबार मात्रै सुचारु भएको बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी प्रस्ताव हालैका लागि नउठाउन आग्रह गरेपछि महामन्त्री गगन थापा असन्तुष्ट बनेर बैठकमै सहभागी भएनन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि २१ सम्म महाधिवेशन गर्ने प्रस्ताव राख्न खोजे पनि खड्काले फागुन ६ देखि सुरु गर्ने प्रस्ताव अघि सारेका थिए।
कांग्रेस संस्थापन इतर समूहको निष्कर्ष - निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्ने
सरकारले फागुन २१ गतेका लागि आमनिर्वाचन मिति तोकेको पृष्ठभूमिमा कार्यबाहक सभापतिले चुनावभन्दा दुई साताअघि महाधिवेशन गर्ने प्रस्ताव ल्याउनु ‘महाधिवेशन ढिलो पार्ने प्रयास’ भएको कांग्रेसका महामन्त्रीद्वय निकट नेताहरूको आरोप छ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले संस्थापन पक्षले समयमै महाधिवेशन नगर्ने नियत देखाएको टिप्पणी गरे।सभापति शेरबहादुर देउवा सिंगापुर भ्रमणमा रहेका बेला पार्टीभित्र गुटगत बैठकहरू सक्रिय छन् भने औपचारिक समिति बैठक नियमित हुन सकेको छैन।
आन्तरिक विवादले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पटक–पटक स्थगित भइरहेका कारण अन्य राजनीतिक तथा संगठनात्मक एजेन्डाहरू पनि प्रभावित भएका छन्।