काठमाडौं, कात्तिक ८ :

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कात्तिक १५ पछि आह्वान गरेको आन्दोलन र त्यससँग जडित सुरक्षा चुनौतीको बारेमा सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई ब्रिफिङ दिएका छन्।

शनिबार बिहान, चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालको नेतृत्वमा बैठक भएको थियो। सुरक्षा प्रमुखहरूले प्रसाईं समूहको गतिविधि र आगामी आन्दोलनको सम्भावित चुनौतीहरूको बारेमा विश्लेषण गरेका छन्।

स्रोतका अनुसार, प्रसाईं समूहले भाडामा मान्छे जम्मा गरेर ठूलो भिड जम्मा गर्न सक्ने सम्भावना रहेको बताइएको छ। यसअघि १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको उदाहरण दिँदै सुरक्षा प्रमुखहरूले यस्ता गतिविधिहरूको निगरानी बढाउनुपर्नेमा जोड दिएका छन्।

गृहमन्त्री अर्यालले हिंसात्मक आन्दोलन नगर्न र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्। सरकारले प्रसाईंलाई शुरुमै सचेत गराउने तयारी गरेको छ।सुरक्षा निकायले पनि प्रसाईंका गतिविधिमाथि थप निगरानी बढाएको छ ।

सुरक्षा प्रमुखहरूले आन्दोलनमा राइडर सेवाहरूको प्रयोग र चुनाव सुरक्षासमेत छलफलमा कुरा राखेका छन्। यदि संवाद नआए सरकार कडा कदम चाल्ने तयारीमा रहेको जनाइएको छ।