भक्तपुर, कात्तिक ७ :

तिहार सकिएलगत्तै भक्तपुरका किसान धानबाली भित्र्याउने चटारोमा छन् । शुक्रवार दिउँसो भक्तपुरस्थित ठिमी बोडेको धानबारीमा भेटिएका उनीहरुले आफूहरु बाली भित्र्याउने काममा व्यस्त रहेको बताएका हुन् । 

ठिमीकी सुनीता कोजुले खेतीबाली भित्र्याउने काममा आफूहरु व्यस्त रहेको बताइन् । उनले सरकारले किसानहरुलाई खेतीवालीका लागि मल र बीउ सहज ढंगले उपलब्ध गराउन नसकेको गुनासो गरिन् । 

सुनिता कोजुले भनिन्, ‘अब खेती गर्नका लागि मलको भाउ कम हुनुपर्‍यो । मल, विउको समयमै व्यवस्था हुनुप¥यो । त्यसो भयो भने मात्रै खेती गर्न सहज हुन्छ ।’

यता बोडेका रामसुन्दर माखुले खेतीबालीका लागि मलको अभाव हुने गरेको गुनासो गरे । उनले धानवाली भक्तपुरमा राम्रो हुने भएपनि मल र विउको अभावमा सोचेजस्तो उत्पादन गर्न आफूहरु सक्षम नभएको पनि बताए । 

माखुले भने,‘यो दशैं अगाडि धान काटन शुरु हुन्छ । त्यही बेलादेखि आलु रोप्ने काम पनि सुरु हुन्छ । धानबालीको हेरचाह हामी आफैँ गर्छौं । मल बेलामा पाइँदैन । पैसा तिरेर पनि मल नपाउने समस्या छ ।’

भक्तपुरमा जेठको अन्तिम सातादेखि धान रोप्ने काम सुरु हुन्छ । असोजको अन्त्यबाट भने सो बाली भित्र्याउने काम सुरु हुने स्थानीय किसानले बताए । बोडेका स्थानीय किसान माखुले खेतीबालीका लागि उन्नतस्तरको बीउबिजनको पनि अभाव रहेको बताए ।