काठमाडौं, कात्तिक ७ :

सर्वसाधारणले पनि निर्वाचनको लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन । उनीहरुले राजनीतिक दलहरुसँग परामर्शमा जोड दिएर आगामी फागुन २१ गतेको निर्वाचनका लागि आवश्यक वातावरण बनाउनेमा काममा सरकारको जोड हुनुपर्ने उनीहरुले बताएका हुन् ।

 काठमाडौंको भुकृटीमण्डपमा भेटिएका राजकुमार कोईरालाले मुलुकमा निर्वाचनको विकल्प नभएको ‌औंल्याउँदै त्यसका लागि आवश्यक वातावरण बनाउन केन्द्रित हुन सरकारलाई आग्रह गरे । उनले निर्वाचनको वातावरण बनाउनका लागि सरकारले जेन—जी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट खोसिएका हतियार, भागेका कैदीबन्दीहरुको तत्काल व्यवस्थापन गर्नुपर्ने बताए । 

कोइरालाले भने,‘सरकारले निर्वाचनका लागि राजनीतिक दलहरुलाई सहमतीमा ल्याउने काम नगरेको हो कि भन्ने छ । त्यो काम गर्नुपर्छ । सुरक्षाका कुराहरु छन् । कैदीबन्दी भागेका कुराहरु छन । यिनीहरुलाई खोज्ने काम राज्यको हो । अव त्यो भागेका बन्दीहरुलाई पनि ल्याउनुप¥यो । र, खोसिएका हातहतियार पनि राज्यले खोज्नुपर्छ । अन्य राजनीतिक दलहरुले पनि भएको ठाउँमा सुझाव दिनुपर्छ । तर चुनावको विकल्प देखिँदैन ।’ 

उनीहरुले राजनीतिक दलहरुलाई सहमतीमा नल्याई सरकारले निर्वाचनको वातावरण बनाउन नसक्ने निष्कर्ष रामकुमार लामाको छ । उनकाअनुसार सरकारले निर्वाचनको वातावरण बनाउन पुराना भनिएका राजनीतिक दलहरुसँग मिलेर काम गर्नुपर्ने बताए। 

लामाले भने,‘अब निर्वाचन चाहीँ गर्नुपर्छ । निर्वाचन गरिएन भने देश अन्यौलतातिर जान्छ । अनिश्चयतातिर जान्छ । त्यसो हुनाले निर्वाचन गर्नुपर्छ । निर्वाचनका लागि सरकारले वातावरण बनाउनु पर्छ । किनभने अहिले भएका जतिपनि नेपाली जनताले वर्तमानमा अहिले भर्खरै विरोध गरिरहेका दलहरु, उनीहरुको कार्यशैलीका कारण जनताले विरोध गरिरहेका छन् । वास्तवमा अहिले पनि जनाधार तल्लो तहसम्म ती राजनीतिक दलहरुको नै छन् । त्यसकारण एउटा स्टेकहोल्डर उनीहरु पनि हुन् । उनीहरुसँग निर्वाचनको वातावरण नबनाईकन निर्वाचन हुन गाह्रो हुन्छ । तर निर्वाचनको विकल्प छैन ।’

जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नुपर्ने म्याण्डेट पाएको छ । तर त्यो म्याण्डेटअनुसारको गतिविधि सरकारले गरेकोमा सर्वसाधारण असन्तुष्ट छन् ।