काठमाडौं, असोज २१ :

प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले निर्वाचन समयमै गराउने कुरामा थप इँट्टा थपेको बताएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्वाचन आयोगका निर्वाचन आयुक्त र प्रधानमन्त्री कार्कीबीच छलफल भएको हो । 

अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसँगको छलफलमा निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत, साधन, आँकलन गरिरहेको र त्यसको एउटा प्रक्षेपण गरेर श्रोत साधनको लागि सरकारसँग आयोगको तर्फबाट अवगत गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

 उनले सरकारको तर्फबाट आयोगलाई सबै श्रोत, साधन उपलब्ध गराउने प्रतिवद्धता भएको बताए । आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने, हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको बताए । 
उनले भने, ‘निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत, साधन, आँकलन गरिरहेको र त्यसको एउटा प्रक्षेपण गरेर श्रोत साधनको लागि सरकारसँग आग्रह गर्ने, अनुरोध गर्ने कुराहरु भएको छ । सरकारको तर्फबाट आयोगलाई ति सबै श्रोत, साधन उपलब्ध गराउने कुरा प्रतिबद्धता आएको छ । 

आजको बैठकले निर्वाचन सफल गराउने विषयमा थप इँट्टा थपेको छ । थप वातावरण बनाएको छ । आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने, हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको छ ।’ उनले सरकार र निर्वाचन आयोगको तर्फबाट राजनीतिक दलहरुसँग छलफल अघि बढाइने बताए ।