काठमाडौं, असोज १५ :

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीमाथि तत्काल कारबाही गरिने चेतावनी दिएका छन्।

चाडपर्वको समयलाई लक्षित गर्दै स्वीकृत भाडादरभन्दा बढी रकम असुली यात्रुहरूलाई मारमा पार्ने, टिकटको कालोबजारी गर्ने लगायतका गतिविधिहरू बढ्दै गएको गुनासाका बीच मन्त्री घिसिङले यस्ता गैरकानुनी कार्य तत्काल बन्द गर्न व्यवसायीहरूलाई आग्रह गरेका हुन्।

‘कानूनको प्रतिकूल हुनेगरी कोहीले बढी भाडा असुले तत्काल खबर गर्नुहोस्, हामी तुरुन्त कारबाही गर्छौं,’ घिसिङले भने। उनले यात्रुहरूलाई तोकिएको भाडाभन्दा बढी असुलीएमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि अनुरोध गरे।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री घिसिङले देशको वर्तमान विषम आर्थिक र सामाजिक परिस्थितिमा सबै पक्षले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।

उनको सचिवालयका अनुसार मन्त्री घिसिङले यातायात व्यवसायीहरूलाई कानून विपरीतका गतिविधि रोक्न स्पष्ट चेतावनी दिँदै यात्रुहरूको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।